जापानकाे भाेगाइ जब सुत्ने समय केवल ३-४ घण्टा हुन्थ्यो, खाना बनाउनुकाे त कुरै नगरूम ?

  • प्रकाशित मितिः भदौ 2, 2077
  • 334 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी- सुनिता भुजेलले समाजशास्त्रमा स्नातकोत्तर सकेर जापान जाने निर्णय गरिन्। ६ महिना भाषा पढिन्। जापान जान १२ देखि १३ लाख खर्च लाग्ने भयो। उनीसँग त्यति रकम थिएन। ऋण लिएर रकम भेला गरिन् अनि स्टुडेन्ट भिसामा जापान गइन्। त्यहाँ पुगेर केही समयपछि वर्किङ भिसा लिएर काम गर्ने सोचका साथ गएकी थिइन्।

उनी जापानको टुचुकी शहर पुगिन्। उनका अरू धेरै साथीहरू पनि जापान गएका थिए। त्यहाँ पढ्न र बस्न नेपालबाट खर्च पठाएर पुग्दैन भन्ने सुनितालाई राम्रो ज्ञान थियो। त्यसैले साथीहरूसँग सम्पर्क गरेर काम बारे बुझ्न थालिन्। उनको साथीले उनकै शहरमा बस्ने एक जना बहिनीलाई सम्पर्क गर्न भनिन्। त्यी बहिनीले उनलाई मस्म फ्याक्ट्रीमा काम लगाइदिइन्। उनको काम मस्म प्याक गर्ने थियो।

जापानमा पुगेपछि पनि भाषा पढिहाल्नुपर्छ भनेर नेपालको इन्स्टिच्युटले खासै एड्भान्स भाषा सिकाउन ध्यान दिएको थिएन। दोहोरो कुरा गर्न उनलाई अप्ठ्यारो नै पर्थ्यो। त्यसैले सुरुका दिनमा भाषा नजान्दा काम गर्ने ठाउँमा धेरैले उनलाई कराए, हेपे। आफूले नजानेको कुरा सोध्दा सिकाइदिएनन्। उनी काम गर्ने ठाउँमा भेतनाम र फिलिपिन्सबाट धेरै जना थिए। उनीहरूको बढी हेपाहा प्रवृत्ति थियो। कतिपय नेपालीले नै पनि सहयोग नगरेको गुनासो गर्छिन् उनी।

त्यहाँ पुगेर सिधै स्टुडेन्ट भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न मिल्दैन थियो। सुरुको २ वर्ष भाषा पढ्नैपर्थ्यो। त्यसपछि भाषा सिकेको प्रमाणपत्र लिएर वर्किङ भिसाको लागि अप्लाइ गर्न पाइन्थ्यो। उनले यसरी नै २ वर्ष भाषा पढेर उतै काम गर्ने सोचेर गएकी थिइन्। उनीसँग एक वर्षको मात्र भिसा थियो। दोस्रो वर्षको उतैबाट नवीकरण गर्नुपर्थ्यो। तर उनको दोस्रो वर्षको भिसा आएन। काम धेरै गरेको देखिएकाले उनलाई भिसा दिइएन। त्यसरी उनले एक वर्ष मात्र भाषा पढ्न पाइन्।

त्यसैले भाषा पढेको प्रमाणपत्र पाउने कुरा पनि भएन। आफू जाँदा लागेको ऋण र भाषा सिकेको फि तिर्दा सबै पैसा सकियो। उनी विदेशको एक वर्षे अनुभव लिएर घर फर्किन्।

पैसा कमाउन नसके पनि त्यो एक वर्षको अनुभवले उनलाई धेरै कुरा सिकायो। भन्छिन्, “आफूले यहाँबाट जस्तो सोचेर गएको हुन्छ त्यस्तो हुँदैन रहेछ। यहाँ बस्दा आफूले काम नगरे पनि परिवार छ भन्ने हुन्छ। उता पुगेपछि आफ्नो खर्च कुनै पनि हालतमा आफैले हेर्नुपर्छ। उता हुँदा आऊ म गरिदिन्छु, म हेरिदिन्छु भन्ने कोही हुँदैन। त्यसैगरी जापानको राम्रो पक्ष भनेको जापानीहरूले कामलाई कहिल्यै पनि सानो ठुलो भन्दैनन्। सिनियरहरूले पनि कुचो लगाउने, भाडा माझ्ने सबै काम गर्छन्।”

उता काममा लागेको सुरुवाती दिनहरूमा उनी त्यति बोल्दिन थिइन्।

नयाँ माहोल र त्यसमाथि भाषा बुझ्न पनि समस्या नै थियो। तर यसो हेर्दा जो बोल्दैन उसैलाई सबैले पेलेको देखिन्। जो सोझो उसैको मुखमा न घोचो हुने हो आखिर। उनले पनि आफूले जानेको बोल्न थालिन्। कसैले उनलाई केही भन्यो भने उत्तर फर्काउन थालिन्। नजाने पनि उनीहरूसँग जसरी हुन्छ बोल्ने प्रयास गरिन्। त्यसो गरेपछि हेप्नेहरू पछि हट्दै गए। उनले यसरी हेपाहालाई ठीक पार्ने उपाय पत्ता लगाइन्।

उनले लिने भाषाको कक्षा बिहानको ११:४० बजे देखि सुरु हुन्थ्यो। ४ बजे छुट्टी हुन्थ्यो। त्यसपछि उनी होस्टेल जान्थिन्। खाना बनाउँथिन्। अनि एक डेढ घण्टा सुतेर काम गर्न जान्थिन्। मस्म फ्याक्ट्रीमा हप्ताको ३ दिन राती ९ बजे देखि बिहान ६ बजेसम्म काम गर्नुपर्थ्यो। एउटा काम गर्दा खर्च धान्न नसक्ने स्थिति भएपछि उनले काम खोजिदिने कन्सल्टेन्सीमा सम्पर्क गरेकी थिइन्। त्यहाँबाट उनले मासु फ्याक्ट्रीमा प्याकेजिङ कै काम भेटिन्। त्यस फ्याक्ट्रीमा उनले हप्ताको अर्को ३ दिन राती ८ बजे देखि बिहान ५ बजेसम्म काम गर्न थालिन्। सुत्ने समय मुस्किलले ३-४ घण्टा हुन्थ्यो। खाना बनाउन पनि भ्याइँदैन थियो। समयको अभावले ३(४ दिनको लागि एकैदिन खाना बनाउँथिन्। फ्रिजमा राखेर त्यही खाँदै काममा जान्थिन्।

दोस्रो वर्षको भाषा कक्षाको फि पहिलो वर्ष नै तिर्नुपर्थ्यो। आफूले पढ्नै नपाएको वर्षका लागि उनले ७ लाख खर्च गर्नुपर्‍यो। त्यसरी अनेक दुःख सहेर कमाएको पैसा खेर जाँदा उनलाई बेमज्जा त भयो तर अर्कोतिर विदेश गएर नयाँ अनुभव भयो र दुःख गर्न सिकियो भन्ने पनि थियो। उनले त्यसैमा चित्त बुझाइन्।

नेपाल फर्किएपछि उनले विवाह गरिन्। विवाहपछि अहिले उनी आफ्नो श्रीमानसँग ललितपुरको एकान्तकुनामा बस्छिन्। असारको दोस्रो साता उनले आप्रवासी महिला कामदार समूह (AMKAS) नेपालबाट मास्क सिलाउने तालिम लिइन्। त्यसैले आजकल मास्क सिलाएर बसेकी छिन्। उनले केही वर्ष अघि स्नातक पढ्ने बेलामा ब्युटी पार्लर खोलेकी थिइन्। पछि जापान जाँदा बेचेकी थिइन्। अब फेरी पार्लर नै खोल्ने कि भनेर पनि सोच्दै छिन्। तर लगानीको अभावमा सम्भव नहोला कि भन्ने डर पनि त्यत्तिकै छ।

नाम: सुनिता भुजेल

ठेगाना: एकान्तकुना, ललितपुर

 


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर

विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल