‘दुःखी आमाको अब्बल चलचित्र’

  • प्रकाशित मितिः फाल्गुन 11, 2076
  • 256 पटक पढिएको
  • औजार संवाददाता

यो साल असारमा पानी कम पर्‍यो । झरीमा चलचित्र खिच्ने भनेर कुरेर बसेका दीपेन्द्र के खनालले चलचित्र खिच्न पाएनन् भन्ने समाचार आए । अनि उनको आलोचना भयो– जमाना कहाँबाट कहाँ पुगिसक्यो । नक्कली पानी पारेर खिचे भइगयो नि १

दीपेन्द्र भने भन्दै थिए– त्यो पनि नगरेको होइन । तर मैले सोचे जस्तो भएन, आर्टिफिसियल भयो । यो वर्ष झरी परेन भने अर्को वर्ष खिच्छु । तर सम्झौता गर्दिनँ ।

दीपेन्द्रले कलाकारसँग पनि त्यस्तै सर्त राखेका थिए । जुन बेला पानी पर्छ, त्यही त्यहीबेला छायांकनमा निस्किनुपर्छ । दीपेन्द्रले सम्झौता गर्दिन भनेको चलचित्र थियो– ‘आमा’ । अहिले यो चलचित्र अहिले हलमा प्रदर्शन भइरहेको छ ।

‘आमा’ तीन आमाहरूको कथा हो । श्रीमान् र छोराछोरी भएकी आमाको कथा । छोरो जन्मिएर पनि स्पर्शसमेत गर्न नपाएकी नव आमाको कथा र सन्तानको अनुभव गर्न हरप्रयास गरिरहेकी निःसन्तान आमाको कथा ।

सन्तानको खुसीका लागि जिन्दगीको ऊर्जाशील उमेर खियाएका बुबा–आमाको खुसी र आफ्नै भविष्य खोज्दै छोरो अमेरिका पुगेपछि बुढाबुढी गाउँमै एक्लै हुन्छन् । एक दिन बुबा भ¥याङबाट लडेर बेहोस् हुन्छन् । आमाले उठाएर उपचारका लागि काठमाडौं ल्याउँछिन् । घाइतेलाई अस्पतालमा भर्ना भएपछि सुरु हुन्छ चलचित्रको कथा ।

उपकरण अभावको बहानामा सरकारी अस्पतालको हेलचेक्र्याईं, अस्पतालमा हुने आन्दोलन र त्यसले बिरामीलाई पार्ने प्रभाव तथा निजी अस्पताल पुगेपछि बिरामीका आफन्तले झेल्नुपर्ने समस्या चलचित्रको मुख्य कथा हो ।

पूर्ण व्यावसायमा रूपान्तर भएको स्वास्थ्य सेवाका नाममा निजी अस्पतालहरूको लुटलाई निर्देशकले चलचित्र ‘आमा’मार्फत भन्ने प्रयास गरेका छन् । जीवन धान्नै सकस हुने मध्यमवर्गीय परिवारको जीवन –संघर्षलाई चित्रित गर्दै सोही वर्गमाथि उपचारका नाममा अस्पतालको ठगीलाई देखाउन निर्देशक दीपेन्द्र सफल भएका छन् ।

अभावबाट मुक्ति पाउन चोरबाटोबाट अमेरिका तथा खाडी जानुपर्ने युवा पुस्ताको बाध्यात्मक परिस्थिति तथा दैनिक मजदुरीले जेनतेन काठमाडौंमा बाँचिरहेको परिवारलाई अतिरिक्त आर्थिक भारको चाँजापाँजो मिलाउँदा त्यसबाट सिर्जित पारिवारिक खटपट चलचित्रको द्वन्द्व हो ।

निर्देशकले आम नेपालीले हरदिन भोगिरहेको कथालाई चलचित्रमार्फत उदाङ्गो पारेका छन् । बाध्यात्मक परिस्थिमाथि टेकेर त्यसको फाइदा उठाउने संवेदनाहीन सहर र मानवता हराउँदै गएको मानवीय चरित्रलाई व्यङ्ग्य कसिएको छ ।

चलचित्रमा भीड जम्मा गर्न क्लिसे दृश्य र सस्ता संवादको सहारा लिने निर्देशकको जमातबाट दीपेन्द्रले आफूलाई टाढै राखेर आफैंले हरदिन भोगिरहेका विषयबस्तुलाई पर्दामार्फत भन्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् । एक्लै कुरुवा बसिरहेकी आमा, जागिर छोडेर घर र अस्पताल गर्ने छोरी, अफिसको समय चोरेर जुनसुकै बेला अस्पताल दौडिने ज्वाईं, जीवन र मृत्युको दोसाँधमा पनि नेपाल फर्किन नसकेको छोरो, आफ्नै नवजात छोरोलाई पनि स्पर्श गर्न वञ्चित आमा, श्रीमती सुत्केरी हुँदा पनि स्वदेश फर्किन नसक्ने श्रीमान, गाउँमा एक्लै भएपछि नाति र नातिनी बुहारीको शरणमा आइपुगेकी हजुरआमाको व्यथा वरपर घुमिरहन्छ, चलचित्र ।

अहिले फेसबुके सस्ता डाइलग र क्लिसे सिन समेटिएका कमेडी चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ । तर निर्देशक त्यता लोभिएनन्, बरु आमजनताले भोगिरहेको समस्यालाई चलचित्रमार्फत भन्न रुचाए ।

त्यसैले कथा आफैं लेखे, आफैँ खिचे र आफैं निर्देशन गरे । उनले सायद चलचित्र भनेको व्यापार मात्रै होइन यो कला पनि हो र यो समाजप्रति जिम्मेवार हुन्छ भनेर अरु नहिँडेको बाटो हिँडे । न चलचित्र चलाउन नचाउने गीत चाहिन्छ भन्ने ठाने न त दर्शक हलसम्म तान्न स्टारडम चाहिन्छ भन्ने आवश्यकता नै । कथाअनुसारको चरित्र निर्माण गरे र चरित्रअनुसार कलाकार कास्ट गरे ।

कास्ट गरेका कलाकारले चलचित्रलाई न्याय गरेका छन् । मिथिला शर्मा र सुरक्षाले अपेक्षित अभिनय गरेका छन् । सुरक्षाले आफूलाई ‘आमा’मार्फत अब्बल अभिनेत्रीका रूपमा प्रस्तुत गरेकी छिन् । सुरक्षाको श्रीमान्को भूमिकामा रहेका मनीष निरौला चरित्रमा फिट छन् । जसरी कपाल खौरिएर चरित्रका लागि सुरक्षाले त्याग गरिन्, त्यस्तै आँट सरिताले पनि गरेकी छिन् ।

‘आमा’को बलियो पक्ष कथा, पटकथा नै हो । उनले पानी कुरेको कारण चलचित्रमा मजाले देखिएको छ । नक्कली वर्षाको दृश्यमा बानी परेका निर्देशकलाई सक्कली दृश्यले चलचित्रको गुणस्तरमा कति प्रभाव पार्दोरहेछ भन्ने प्रस्ट पारिदिएको छ ‘आमा’ले ।

सूचना प्रवाहको माध्यम चलचित्र पनि हो । समाज परिवर्तनका लागि यसको भूमिका हुन्छ भनेर मान्न हो भने यो जिम्मेवारी ‘आमा’मार्फत निर्देशक दीपेन्द्रले पूरा गरेका छन् ।

चलचित्र कथा, अभिनय, लेखन र निर्देशनकोे त्रिकोणात्मक संगम हो । यसमा कथा, लेखन र निर्देशनको जिम्मेवारी दीपेन्द्रले निभाएका छन् । क्यामेरामा पनि दीपेन्द्र कलात्मक देखिन्छन् ।

नेपाली चलचित्र सधैं चुक्ने साउन्डमा हो । ‘आमा’ यसमा केही सतर्क देखिएको छ । भलै केही कमजोरी छ । कानै टट्याउने लोउट ब्याकग्राउन्ड स्कोर त छैन । तर काम गर्न सकिने ठाउँ भने छन् । आगामी चलचित्रमा दीपेन्द्रले सजग हुनैपर्छ ।

कलरमा पनि राम्रै काम गरेका निर्देशक सम्पादनमा पनि अनावश्यक दृश्य काट्न डराएका छैनन् । चलचित्रमा प्रयोग भएको गीत ठीक ठाउँमा कथा बोल्न आइपुगेको छ ।

झमझम पानी परिरहन्छ । त्यही पानीमा श्रीमानको जीवन जोगाउने लालसा बोकेर आमा विनाओत दौडिरहन्छिन् । यसलाई आमाले लुकाउने आँसुसँग तुलना गर्न सकिन्छ । बूढी आमा एक्लै अस्पतालमा हप्तौं श्रीमान्लाई कुरिरहँदा छोरी घरमा सुतिरहन्छे । यसलाई मानवीय संवेदना र नैतिकाको खडेरी लाग्दै गरेको नयाँ पुस्ता र परिबन्दमा परेकी छोरीको छटपटीका रूपमा बुझिन्छ ।

कमजोरीका रूपमा ‘आमा’मा देखिइसकेका केही दृश्यहरू संवादका रूपमा आउँछन् । विदेशमा रहेको छोरो ९अर्पण थापा० आफू गैरकानुनी रूपमा बस्दाबस्दै पनि ऋणधन गरेर बुबाको उपचारका लागि पैसा पठाइरहेको छ । तर, त्यो मुटु छेड्ने गहिरो दुःख उनको स्वरमा फितलो प्रतिध्वनित हुन्छ ।

गैरजिम्मेवार सरकारी अस्पताल भन्ने चलचित्रको प्रारम्भतिरकै सुरक्षाले बोल्ने डाइलग, मिथिला शर्माले जीवन भोगाइबारे ठाउँ–ठाउँमा प्रयोग गरेका संवाद कति दृश्यमार्फत आइसकेका छन् भने कति देखाउन सकिन्थ्यो ।

जिवन्त चलचित्र त्यो हो जसले पर्दामा हेरुन्जेल मात्रै होइन हेरिसकेपछि पनि लामो समयसम्म दर्शकको मनमा छाप छोडिरहन्छ । यस अर्थमा ‘आमा’ सफल छ ।

निर्देशक तुलसी घिमिरेको वाक्य सापटी लिने हो भने दर्शकको मन जित्न हलमा दर्शकलाई रुवाउनै पर्छ । तर यसलाई मात्रै सफलताको मापक र मानक नमान्ने हो भने पनि कथा, दृश्य, अभिनय र चरित्र चित्रणले मन छोइरहन्छ । स्वास्थ्यका नाममा सम्झौता नगर्ने मनोविज्ञानमा खेलेर लुटिरहने अस्पताल र आफन्तको माया, बाध्यता र पीडाले मन पोलिरहन्छ । मरेपछि पनि गरिबीले नछोडेको दृश्य र त्यसले सिर्जना गरेको अर्को दुर्घटनाले दर्शकको हृदय पग्लिन्छ ।

‘पशुपतिप्रसाद’ पछि ‘धनपति’ र ‘चङ्गा चेट’बाट लय गुमाएका दीपेन्द्रले पुनः उत्कृष्ट पुनरागमन गरेका छन् । अस्पतालको इनडोर सिन र सीमित स्रोत साधनबीच निर्माण भएको चलचित्र ‘आमा’ समसामयिक मौलिक कथा बोलेको अब्बल नेपाली चलचित्र हो ।

० ० ०

निर्देशनरकथारछायांकन : दीपेन्द्र के खनाल
निर्माता : शर्मिला पाण्डे
कलाकार : मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनीष निरौला

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व