‘सशस्त्र विद्रोहका घाइतेको बकपत्र’ : नेताले करोडौँ कमाए - पार्टी पुँजीपतिको बनाए

  • प्रकाशित मितिः फाल्गुन 1, 2076
  • 179 पटक पढिएको
  • औजार संवाददाता

माओवादीले २१ चैत, २०६१ बाट १० दिने आमहडताल आह्वान गरेको थियो । उक्त आमहडतालमा २५ गतेसम्म यातायातका साधन चलेनन् ।

२६ गतेबाट विस्तारै गाडी चल्न थाले । जयबहादुर न्यासुर सम्झन्छन्, ‘२५ गतेसम्म यातायात ठप्प थियो तर २६ गतेबाट यातायातका साधन चल्न थाले । म औद्योगिक क्षेत्र गएर ड्राइभरलाई बोलाएर सम्झाएँ, बुझाएँ । यो मजदुरको हक हितका लागि आमहडताल गरेका हौँ– गाडी नचलाइदिनुहोला ।’

उनले सम्झाए पनि केही ठाउँमा सवारीसाधन चल्न थाले । त्यस समय हेटौँडामा विक्रम ट्याम्पो चल्थे ।

यातायातका साधन चल्न नरोकिएपछि जिल्ला हेडक्वार्टरबाट उनलाई ‘गाडी किन चलेको रु’ भन्दै रोक्न आदेश आयो । सेक्रेटरी थिइन्, कुमारी मोक्तान । सक्रेटरीको आदेश पाएपछि उनी बजार क्षेत्र गए । उनले त्यस दिन झोलामा बम बोकेका थिए । कम्मरमा पेस्तोल थियो ।

२८ चैतमा उनी ट्याम्पो स्टयान्डमा उभिएका थिए । त्यही स्ट्यान्डमा उभिएको समयमा उनले बोकेको बम हातमै पड्कियो । उनले बोेकेको बम पड्किँदा ७ जना माओवादी सँगै थिए । बम पड्किएपछि सबै डराएर भागे ।

कमाण्डर नै बमले उडेपछि सबैको भागाभाग भयो । उनी कति टाढा पुगे, केही थाहा भएन । उनी उठ्न खोज्थे, उठ्न सक्दैनथे । कराए । उनले साथीहरूलाई सुरक्षित हुन भने ।

आँखा खोल्न खोजे, धमिलो भयो । आँखाले केही देखेन । आँखा अगाडि धमिलो मात्र देखे । उनी सम्झन्छन्, ‘म घाइते भइसकेँ, तपाईंहरू सुरक्षित हुनुहोस् भने । सकिन्छ भने छतिवनसम्म पुर्‍याउनुहोस् । सकिँदैन भने तपाईंहरू सुरक्षित हुनुहोस् । मसँग केही पनि सामान नराख्नुहोस् । पेस्तोल र मोबाइल पनि लैजानुहोस् ।’

त्यस समयमा धेरै कमले मात्र मोवाइल चलाउँथे । माओवादीसँग पनि धेरै मोबाइल थिएनन् । उनीसँग भएको मोबाइल, पेस्तोल लगेछन् साथीहरूले तर पेस्तोलको खोल लैजान बिर्सेछन् ।

उनले हातमा बम पड्किनुभन्दा अलिकति पहिला भाषण गरेका रहेछन् । बम पड्किएपछि गीत गाएछन् ।

यो शरीर ढल्यो साथी हो
लालझण्डा ढल्न नदिनू
क्रान्तिका लागि मरेर गयो
साथीलाई भन्दिनू
यो शरीर ढल्यो साथी हो ।।।

आमाको माया । आमाको नाता । यी सबै थाहा छ । तर, उनकी आफ्नै आमा उनी अढाई वर्षका हुँदा बितिन् । उनले आमाको अनुहार कस्तो थियो होला भनेर कहिल्यै सोच्नु परेन । आमाको मृत्युपछि उनका मामाघरका हजुरबा हजुरआमाले कान्छी छोरी अर्थात् उनकी सानिमा उनका बुबालाई विवाह गरिदिए ।

आमाको माया कान्छी आमाबाट पाए उनले । यस कारण आमाको मायाबाट कहिल्यै बन्चित हुनु परेन उनले ।

तर, उनको जीवनमा गरिबीले भने कहिल्यै छाडेन । स्कुल पढ्न गए । सानैमा आमा गुमाएका जयबहादुर न्यासुरलाई आमाको माया कान्छी आमाले दिइन् ।

उनको घरनजिकै स्कुल थियो । स्कुल भर्ना भए । अक्षर आरम्भ धुलौटे पाटीबाट गरे । काठको पाटीमा अक्षर लेख्न सिके । आधा पेट खाए, आधा शरीर लगाए । घर नजिकको स्कुलमा ५ कक्षासम्म पढे ।

स्कुल पढ्न मन थियो तर त्यस समय स्कुलभन्दा पनि बढी महत्त्वपूर्ण बन्यो, खाने र लगाउने कुरा । गरिबीले गर्दा उनको स्कुले जीवनभन्दा मजदुरको जीवन बढी सक्रिय थियो ।

उनी पढेको जनजागृति प्रावि वीरेफाँट हो । यहाँबाट ५ कक्षा पास गरेर हात्तीसुँुढेको बुद्ध निमाविमामा ६ कक्षा पढे ।

२०४६ सालमा उनको जीवन नयाँ गारेटोमा मोडियो । त्यो समयमा स्कुल ढिला भर्ना हुने चलन थियो । उनी पनि ६ कक्षा पढ्दा १३ वर्षका थिए ।

१३ वर्षमा आमाबुबाले दिएको खाने, खेल्ने र पढ्ने उमेर हो तर उनी १३ वर्षमा कमाउन शहर पसे ।

शहर पस्नुको कारण गरिबी नै हो । उनी सम्झन्छन्, ‘घरमा लाउन, खानको समस्या थियो । मसँगका साथीहरू काठमाडौं आएर घर जाँदा राम्रो कपडा लगाएर जान्थे । सफा देखिन्थे । मैले सोचेँ, काठमाडौं गएर कमाउँछु र राम्रो लगाउँछु ।’

घरबाट शहर हिँडे उनी । ललितपुर हुँदै काठमाडौं छिरे । दुर्गाबहादुर वाइवाले उनलाई काठमाडौं पुर्‍याए । उनी २ दिनमा पुगेका थिए चापागाउँ ।

स्वयम्भूको कर्मतार कार्पेट उद्योगमा काम सुरु गरे । उनका मामा पर्ने काम गर्थे त्यहाँ । उनले त्यहाँ तलब नपाउने गरी काम सिके ।

३ महिना काम सिके । २ सय रुपैयाँ तलब दिने सहमति भयो । तर, उनले त्यहाँ काम गरेनन् बरु अर्को गार्मेन्टमा काम गर्न थाले ।

६ महिना काम गरे त्यस गार्मेन्टमा तर तलब पाएनन् । उनलाई महिनाको ५ सय रुपैयाँ दिने भनेको थियो ।

उनले तलब नपाएपछि ठेक्कामा काम लिए । त्यहाँ पनि काम गरे तर पैसा पाएनन् । त्यहाँ छाडेर कलङ्कीमा काम गर्न थाले उनी । त्यहाँ पनि राम्रो कमाइ भएन ।

थानकोटको गुर्जुधारामा पनि गार्मेन्टमा काम गरे । कलङ्कीमा ३ महिना काम गरेर ७ सय रुपैयाँ कमाए । त्यही पैसाले कपडा किनेर कालीमाटीबाट ट्रक चढेर हेटौँडा गए ।

उनको काठमाडौंको एक वर्षे बसाइ सुखद भएन । उनी २०४७ सालमा घर फर्किए । त्यहाँ पनि धेरै बसेनन् बरु २ जना मानिस लिएर पुनः

काठमाडौं आए । कलङ्कीमा पुनः काम सुरु गरे ।

उनी त्यहाँबाट पुनः बालकुमारी सरे अथवा त्यहाँ काम गर्न थाले । त्यही समयमा उनले सितोरियो कराते सिके । उनी बालकुमारीबाट दशरथ रंगशालामा कराँते सिक्न आउँथे ।

उनले उपत्यकाका धेरै गलैँचा कारखानामा काम गरे । आफैँले ठेक्का लिएर काम गरे । उनले काम नै परिवर्तन गर्ने सोच बनाए । उनले गलैँचा बुन्ने भन्दा गलैँचाको नक्सा बनाउन सिक्ने चाहना राखे ।

उनले आफू काम गर्ने ठाउँमा नै नक्सा बनाउन सिके तर सिक्नु भन्दा पहिला नै त्यही गार्मेन्टको नक्सा बनाउनेलाई लुकेर हेरेको देखेपछि भाग भनेछन् । तर, उनले सिकेर नै छाडे । उनले अर्को गार्मेन्टमा गएर नक्सा बनाउन थाले ।

उता, कराते सिक्ने काम पनि जारी राखे । त्यस समय करातेको ब्ल्याक बेल्ट लिन सिङ्गापुर जानुपर्ने रहेछ । उनलाई अंग्रेजी आउँदैनथ्यो । स्कुल त उनले सानै उमेरमा छाडेर हिँडेका थिए ।

उनले ललितपुरको लगनखेलमा अंग्रेजी पनि सिके तर दुर्भाग्य, उनी सिङ्गापुर गएनन् । जुन गार्मेन्टमा नक्सा बनाउँथे, त्यहीँ काम गर्ने युवतीसँग प्रेममा परे उनी ।

नक्सा बनाउन जानेपछि पुनः ललितपुरको गार्मेन्टमा पुगे । उक्त गार्मेन्ट नरबहादुर स्याङ्तानको थियो । स्याङ्तानले उनको श्रमको मूल्य दिए । उनीसँग लामो समय काम गरे ।

उनले २०५० फागुनमा विवाह गरे । विवाह गरेपछि उनको जिम्मेवारी पनि बढ्यो । उनी कामबाट र दुःखबाट कहिल्यै डराएनन् ।

मजदुर सङ्गठनमा आवद्ध

२०५१ सालमा मजदुर सङ्गठनमा आवद्ध भए । उनी भन्छन्, ‘हामीलाई गार्मेन्ट मालिकले धेरै दुःख दिए । मलाई त्यसपछि मजदुर सङ्गठनमा आवद्ध हुन मन लाग्यो । म मजदुर सङ्गठनमा आवद्ध भए । पम्फा भुसाललाई त्यही दिन देखेको हँु ।’

अब उनी आफ्ना लागि मात्र होइन, अन्य मजदुरको हक हितका लागि पनि लड्न थाले । उनी मजदुर आन्दोलनमा अग्रभागमा उभिए ।

उनले उपत्यकाका गलैँचा उद्योगमा काम धेरै गरे तलब थोरै पाए । धेरै ठाउँमा तलब नै पाएनन् अनि फर्किए आफ्नै गाउँ ।

ऋण लिएर विवाह गरेका थिए । उनले त्यो समयमा ७ हजार रुपैयाँ ऋण लिएका थिए तर तिर्दा १४ हजार रुपैयाँ तिरे । उनी भन्छन्, ‘काम धेरै गरेँ तर विवाह गर्दा ऋण लिएर गर्नुपर्‍यो । २०५१ सालपछि काठमाडौंमा गलैँचा बुन्न फर्कें ।’

उनको ऋण भने बढ्दै गयो । साहु थिए, बलबहादुर घलान । उनले साँवाको व्याज, व्याजको स्याज लिए । उनले डेढ वर्षमा आफ्नो खेत साहुलाई दिनुपर्‍यो । साहुले १४ हजार रुपैयाँ भयो भनेर खेत खाए ।

उनका ठूलोबुबाले साहुको १४ हजार तिरिदिए तर खेत आफ्नो नाममा गरे । उनी खेतविहीन बने ।

राजनीतिक यात्रा

१७ चैत २०५३ मा नेकपा माओवादीको ‘पार्ट टाइमर’ कार्यकर्ता बने उनी । अन्यायको विरुद्ध लड्न माओवादी भएको बताउँछन् उनी ।

११ वर्षको उमेरदेखि साहु, महाजनबाट ठगिए । काम गरेर तलब पाएनन् । उनमा विस्तारै विद्रोही भावना पैदा हुन थाल्यो । काम गर्दा पनि पैसा नदिने । ७ हजार रुपैयाँ ऋण लिँदा डेढ वर्षमा १४ हजार हुने । यस्तोमा कसरी बाँच्न सक्छन् गरिबहरू रु भन्ने लाग्यो उनलाई ।

उनका गाउँका बिनु गोलेलाई मार्‍यो सुरक्षाकर्मीले । उनी माओवादी थिए । माओवादीको नाममा सर्वसाधारणलाई पनि मार्न थाले पनि उनी त्यहीँ बसेका थिए ।

तर, विस्तारै बस्न सक्ने अवस्था आएन । त्यही समयमा छतिवनमा लाटो मानिसलाई मार्‍यो सुरक्षाकर्मीले । ती मानिसलाई मारेपछि आतङ्ककारी मार्‍यौँ भन्यो ।

उनी विस्तारै माओवादीमा पूर्णकालीन भए । २०५७ सालमा उनको घरमा सेना आउन थाले ।

माओवादीको पूर्णकालीन

२०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता भए । उनी घरमा बस्न नसक्ने अवस्था आएपछि उनी पूर्णकालीन भए । उपत्यकाका साहु, गाउँका गरिबहरूको अवस्था देखेर उनी माओवादी भएको बताउँछन् । ‘अन्याय, अत्याचार यति धेरै थियो कि जसको वर्णन गर्न सकिँदैन’, उनी भन्छन् ।

उनी सुरुमा गाउँका साथीहरूसँग सङ्गठित भए । बिनु भन्नेको मामाले उनलाई अभियानमा लिए । अभियानमा गएपछि उनी माओवादीसँग झन नजिक भए ।

अभियानमा हिँडेपछि फर्केर घर आएनन् उनी । यसबीचमा उनका २ छोरी जन्मिइसकेका थिए ।

उनी एरिया कमिटी हुँदै माओवादीको सेनामा गए, २०५८ सालमा । त्यसभन्दा पहिला माओवादीमा सेना छुट्टै थिएन । उनी सुरुमा स्क्वायर लिडर बने । ३ नम्बर एरियामा बस्थ्यो त्यो समयमा सेना ।

सेनामा उनले २०६० सालसम्म काम गरे । २०६० कात्तिकमा पुनः सेनाबाट नगरपालिका हेर्ने गरी हेटौँडा सरुवा गर्‍यो पार्टीले । त्यो समयमा शहरमा अर्वान सेना थियो । अर्वान सेनामा ३ देखि ५ जनाको संख्या हुन्थ्यो । उनी हेटौँडामा करिब डेढ वर्ष बसे । बजार छेउछाउ र जङ्गलमा उनको वास हुन्थ्यो ।

उनी पहिला पनि बजार क्षेत्रमा बसेका थिए । उनी अर्मान टोलीको नेतृत्व गर्थे । अर्मानले कसैमाथि वा कुनै ठाउँमा हानेर भाग्ने काम गर्नुपथ्र्यो ।

अस्पताल पुर्‍यायो अपरिचितले

यो गीत सुनेपछि उनी ढलेकै छेउनिर भएको एम्बुलेन्सले उनलाई बोकेर हेटौँडा अस्पताल पुर्‍याएछ ।

त्यहाँ स्लाइन पानी चढाएर चितवन लैजान खोजेको रहेछ । उनले त्यस मानिसलाई चिन्दैनथे । उक्त मानिस आउँदा बम पड्केको सुनेर रोकिएका रहेछन् ।

‘उनले मलाई उठाएर अस्पताल पुर्‍याए । अस्पतालमा प्रहरी आएछन् । मलाई चितवन लैजान दिएनन् । प्रहरीलाई पनि पहिला म माओवादी हो भनेर थाहा थिएन’, उनी भन्छन्, ‘जब मेरो रगताम्य कपडा खोल्न थाले, पेस्तोलको खोल देखेपछि प्रहरीले मेरो उपचार गर्नुहुन्न भन्न थाले । त्यो समयमा अस्पतालमा नै प्रहरी युनिट हुन्थ्यो ।’

उनी आँखा देख्दैनथे तर कान भने सुन्थे । प्रहरी र डाक्टरबीच भएका कुराहरू सुनिराखे उनले ।

‘मलाई स्लाइन चढाइएको थियो । दुखाइ कम हुने औषधि स्लाइनबाट नै दिइएको थियो’, उनी भन्छन् ।

उनका खल्तीमा कागजहरू थिए । धेरै नेता, कार्यकर्ताहरूका फोन नम्बर थिए । अमन र कञ्चनका बारेमा खोजी गर्न थाल्यो प्रहरीले । कञ्चन भनेका अग्नि सापकोटा हुन् । अमन साइकल बनाउने मानिस थिए ।

‘मलाई सोधखोज गर्न थाले । को हो अमन रु किन फोन नम्बर बोकिस् भनेर’, उनी सम्झन्छन् ।

उता, एम्बुलेन्सको ड्राइभरले भने अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीलाई फोन गरिसकेको रहेछ । केही समयपछि आईसीआरसीका मानिस आइपुगेछन् ।

‘उनीहरूले दबाब दिएर मेरो उपचार हुनुपर्छ भन्न थाले । बल्ल प्रहरी मलाई चितवनको भरतपुर लैजान तयार भयो । मलाई चितवनको भरतपुर उपचार गर्न लगियो । मसँगै इन्सपेक्टरको टोली गयो’, ती दिन स्मरण गर्छन् उनी ।

डाक्टरहरूले उनलाई बचाउँछौँ भने तर प्रहरीले भने घाउ भएको ठाउँमा हान्न थाले । पानी माग्दा ‘ट्वाइलेट गएर पिसाब लिएर आइज ।।।डीको छोरालाई खुवाऔँ’ भन्थे प्रहरीले । पानी माग्दा पिसाब खान लगाउँथे ।

‘मैले मलाई पिसाब खुवाउँछन् भनेर डाक्टरलाई भन्दा डाक्टरलाई पनि धम्क्याएर उपचार गर्न दिएनन्’, उनी भन्छन्, ‘मेरा दुवै हात काटिए । पेटको अपरेसन भयो । एउटा आँखा त्यही दिन गुम्यो । अर्को आँखाले छाया जस्तो देख्थेँ ।’

विस्तारै दुवै आँखाको ज्योति बन्द भयो । संसार अन्धकार भयो उनका लागि ।

अस्पतालमा उपचार गर्दा प्रहरीले धेरै दुःख दिए । आँखा देख्दैनथे, हात थिएनन् तर पनि प्रहरीले घाउमा पिट्ने, मानसिक तनाव दिने गरेको सम्झँदा उनी अहिले पनि जिरिङ्ग बन्छन् ।

हात छैनन् भन्ने कुरा चितवनको सरकारी अस्पतालमा पुर्‍याएपछि थाहा पाए उनले । भरतपुर अस्पतालमा १८ जेठसम्म राख्यो ।

उनलाई पहिला मेडिकल कलेजमा भर्ना गरेछन् । त्यहीँ हुँदा यातना धेरै दिइयो । घाउहरू पाक्दा पनि उपचार गराएनछन् । उपचार गराउन दिइएनछ ।

उनी भन्छन्, ‘मलाई मेडिकल कलेजमा हुँदा साह्रै दुःख दिए प्रहरीले । सुरुमा मेरो उपचार गरेको भए म राम्रो हुन्थेँ । समयमा उपचार गर्न दिइएन । प्रहरीको कारण मेरो जीवन नै बर्बाद भयो । समयमा उपचार गराइदिएन । डाक्टरलाई पनि धम्क्यायो ।’

माओवादी भएपछि निगरानीमा हुने त भइहाल्यो । उपचार पनि राम्रोसँग पाएनन् उनले । प्रहरीले ‘प्रचण्डको सन्तान’ भन्दै गाली गरेको र यातना दिएको सम्झँदै अनुहार कालो बनाए उनले ।

डिस्चार्जपछि हेटौँडा नै लगियो उनलाई ।

हेटौँडा जिल्ला प्रहरी कार्यालयमा राखियो उनलाई । प्रहरीले खाना खुवाइदिन्थ्यो तर पेटभरी होइन । उनी पहिला ५७ किलो थिए । पछि ३५ किलो भएका रहेछन्, प्रहरी हिरासतबाट छुट्दा ।

‘५–७ गाँस भात दिन्थ्यो । भयो भन्थ्यो । म भएन भन्थेँ । साँझ बढी खाना दिन्छौँ भन्थे तर दिँदैनथे । म भोकले मर्ने अवस्था आयो । मलाई मर्छ भनेर प्रहरीले छाडे’, उनी सम्झन्छन्, ‘घरको मानिसलाई बोलाएर लैजाऊ भने । मेरी श्रीमती र सानोबुबा आउनुभयो र मलाई लिएर जानुभयो ।’

उनलाई प्रहरी कार्यालबाट जटिया पुर्‍याइयो । उनले धेरै पछि पेटभरी चाउचाउ खाए । त्यसपछि हात्तीसुँढेमा राखियो ।

आँखाको उपचार गर्न काठमाडौं

उनको एउटा आँखा पूरा बन्द भइसकेको थियो । अर्को आँखाले धमिलो देख्थे । त्यही कारण उनलाई आँखाको उपचार गर्न तिलगंगा आँखा अस्पताल ल्याइयो ।

जिल्ला प्रहरी कार्यालयले लेखेर दिएको थियो– ‘हामीले छाडेका हौँ, कसैले नसमात्नू’ भनेर । सुरुसुरुमा उनको आवाज आउँदैनथ्यो । विस्तारै आवाज आयो ।

उनी भन्छन्, ‘डिस्चार्ज भएपछि पार्टीसँग सम्पर्क गरेँ । नेताले काठमाडौं जानू, औषधि गर्नू, हामी हेराँैला भनियो । पार्टीले ७ हजार दियो । त्यो पैसा एम्बुलेन्सको तिरेँ ।’

आँखाको उपचार गर्न २९ जेठमा काठमाडौं आए । ६ असारमा एउटा आँखाको नानी फेरिदियो । पैसा लागेन तर त्यो आँखाले काम गरेन । अपरेसन गर्दा २ हजार ६ सय रुपैयाँ लाग्यो । नानीको पैसा तिर्नु नपरेको बताउँछन् उनी ।

अहिलेसम्म पार्टीले उपचार गर्न ७०–८० हजार रुपैयाँ दिएको रहेछ । त्यो पैसाले कानको जाली फेरेछन् उनले ।

उनी भन्छन्, ‘बम पढ्केको दिनदेखि आजसम्म धेरै खर्च भइसकेको छ । यता छोरीहरूलाई विभिन्न संघसंस्थाले पढाइदिए । जग्गा बेचेर उपचार गरेँ । मासिक १० हजार रुपैयाँको औषधि किन्नुपर्छ । आँखामा औषधि लगाइरहनुपर्छ ।’

ड्रेसिङ उनकी श्रीमतीले गर्थिन् । उनी आफूले मेडिकलमा काम गर्दा सिकेको सीप उनले आफ्नो श्रीमतीलाई सिकाएका रहेछन् । उनको ड्रेसिङ गर्दा महिनामा ८–९ हजार रुपैयाँ लाग्थ्यो । त्यो बचाउन उनले श्रीमतीलाई ड्रेसिङ गर्न सिकाएका रहेछन्, जसका कारण उनको महिनामा ८–९ हजार रुपैयाँ बच्दोरहेछ ।

उनी सम्झिन्छन्, ‘मलाई लाग्थ्यो, पार्टी गरिब छ । धेरै पैसा सक्नुहुन्न भन्ने लाग्थ्यो । त्यत्रो साथीहरूको लजिस्टिकदेखि मसलन्द किन्नुपर्छ भन्ने लाग्थ्यो । म मेरो सालाको कोठामा गएर बसेँ । पार्टीलाई यस्तो चाहियो भनिनँ । फलफूल पनि खाइनँ ।’

‘पार्टी त सकिएको रहेछ’

पार्टीमा फौजी काम गरे उनले । तर, पछि उनलाई पार्टीले सेनाको हो भन्ने अनि सेनाले पार्टीको मानिस हो भन्दा चित्त दुख्यो ।

उनी भन्छन्, ‘म सद्दे हुँदा कुमारी मोक्तानले मकवानपुरमा राख्नुपर्छ भन्ने । पवनमान श्रेष्ठ आफूसँगै काठमाडौं ल्याउन खोज्ने । घाइते भएपछि सबै पन्छिन खोजे । म पहिला राज्यबाट पीडित थिएँ, अहिले पार्टीबाट पीडित छु ।’

उनी पछि क्यान्टोनमेन्टमा बसे ।

उनले क्यान्टोनमेन्टबाट ५ लाख रुपैयाँ बुझे । पाएको ५ लाख रुपैयाँ उपचारमा नै सके । तर, त्यसले पनि पुगेन ।

उनी उपचारका लागि केही व्यवस्था गरिदिन्छन् कि भनेर पार्टी कार्यालय पेरिसडाँडा नगएका होइनन् तर उनको त्यो आवाज पेरिसडाँडाको घरभित्र छिरेन । त्यही डाँडाबाट आकाशतर्फ हावासँगै उड्यो ।

उनी घाइतेका लागि बनाइएको पोस्ट बानेश्वरमा बस्थे । त्यहाँबाट धनबहादुर मास्के ९राजेश०ले निकाले । निकालिनुको कारण थियो, चितवनमा रहेको तेस्रो डिभिजनमा भएको भ्रष्टाचारको विरोध गरेका रहेछन् उनले ।

उनी भन्छन्, ‘क्यान्टोनमेन्टमा महिनाको १ करोड उठाउँथे मास्के । त्यो पैसा कहाँ हालियो, केही पत्तो भएन’, उनी भन्छन्, ‘घाइेतलाई उठाएको पैसा हो त्यो १ करोड मासिक तर उनले खाए । मैले विरोध गरेको थिएँ । त्यही भएर मलाई क्याम्पबाट निकालियो ।’

२०६७ साउनमा उनलाई क्याम्पबाट हटाइयो । उनले ‘क्याम्पबाट हट्छु तर मेरा आँखा, हात, कान र पेट सद्दे बनाइदिनू’ भनेछन् । मास्केले ‘अरू केही थाहा छैन, २६ गतेसम्ममा सर्नू’ भन्ने उर्दी जारी गरेछन् ।

उनले पार्टी कार्यालयमा गएर आफ्नी श्रीमतीलाई एयरपोर्टमा सामान लोड गर्ने ठाउँमा भए पनि काम लगाइदिन भने । तर, कसैले सुनेनन् । अहिले ६ हजार २ सय रुपैयाँ मासिकमा काम गरिरहेका छन् ।

उनी घाइतेको टोली लिएर बालुवाटारमा प्रधानमन्त्री बाबुराम भट्टराई भेट्न गए । तर, समस्या ज्यूका त्यूँ ।

‘अहिले पनि नेताहरूलाई देख्दा दिक्दार लाग्छ । नेताको मुक्तिका लागि लडिएछझैँ लाग्छ । पार्टीले केही गरेन । मेरो परिवारलाई जागिर लगाइदिनु भन्दा सर्टिफिकेट माग्छन्’, उनी भन्छन्, ‘हिजो म जनयुद्ध लड्दा सर्टिफिकेट चाहिएन, आज मेरी श्रीमतीलाई एयरपोर्टमा सामान लोड गर्ने काममा लगाइदिनू भन्दा सर्टिफिकेट चाहिन्छ ।’

उनकी छोरी माइती नेपालले पढाइदिएको रहेछ । उनले गुनासो गरे, ‘पार्टीका नेताका छोराछोरी महँगा स्कुलमा पढ्छन् । मनमा धेरै कुरा खेल्छन् तर के गर्नु कुरा खेलेर । पार्टीसँग धेरै अपेक्षा गरेको थिइनँ । सहज रूपमा बाँच्ने व्यवस्था गरिदिए पुग्थ्यो तर पार्टी त पुँजीपतिको भएछ । श्राेत सिलापत्र


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए