नेपालकाे शिक्षा नीजि क्षेत्रले धानेकाे छ

  • प्रकाशित मितिः पुष 10, 2076
  • 264 पटक पढिएको
  • औजार संवाददाता

प्राडा भोलानाथ पोखरेल ३२ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा रहे । नेपाली उपन्यासमा विद्यावारिधी गरेको उनी साधारण परिवारमा जन्मिएका हुन् । २०१३ सालमा धनकुटाको डाडाँगाउ नाम्फुमा जन्मिएका उनले संखुवासभाको मादी माविबाट २०३० सालमा एसएसलसी उत्तिर्ण गरेका हुन् । एसएलसी उत्तिर्ण गरेसँगै उनले शिक्षण पेशालाई अंगालेका उनी पछिल्लो समय धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका हुन् । ६३ वर्षको उमेरमा सेवा निवृत्त भएपछि उनी पुनः धरान–९ स्थित समिट सेकेण्डरी स्कुलमा ं२ इन्चार्ज भएर काम गर्न थालेका छन् । आफ्नो जीवन नै प्राध्यापन पेशा र विद्यार्थीहरुसँग वितेकोले आफुले सकुन्जेलसम्म त्यसैमा विताउने बताउँछन् उनी । उनीसँग औजार दैनिकले गरेको कुराकानीको अंश ।

रिटायर्ड भएर पनि पुनः विद्यार्थीहरुलाई पढाउन नै थाल्नुभयो, दिक्क लाग्दैन ?
विद्यार्थीहरुसँग घुलमिल भएर उनीहरुलाई सिकाउने काममा छु म ।
आफुले जानेको कुरा सिकाउन, विद्यार्थी जस्तो जिज्ञासुहरुलाई ज्ञान बाड्न पाउँदा दिक्क कसरी लाग्छ र ? रिटायर्ड भएर यही पेशामा भन्ने सवालमा चाही मैले तीन दशक भन्दा पनि लामो समय यसैमा विताएकोले यसैमा मेरो लगाव छ । यसैमा मेरो रुचि छ, यसैमा विज्ञता छ, सबैथोक यसैमा छ । त्यसैले यो भन्दा बाहिर जान सकिन । अब त्रिवि (त्रिभुवन विश्वविद्यालय) ले ६३ वर्ष उमेर पार भयो अब आराम गर भनेर सेवा निवृत्त गरेको हो । तर म अझै उस्तै उर्जावान् छु, मसँग अझै उस्तै जोश जाँगर छ, उस्तै इच्छाशक्ति पनि छ त्यसैले यही पेशामा छु ।

समग्रमा प्राध्यापन पेशा कस्तो रहेछ ?
प्राध्यापन पेशा भनेको पेशा मात्रै होइन ।
यो सेवा पनि हो । ज्ञान बाड्नुपर्ने भएकोले धर्म पनि हो । विद्यार्थीलाई सिकाउनु, उसलाई ठिक बाटोमा ल्याउनु र उसको लक्ष्यमा पु¥याउने काम भएकोले यो सम्मानीत पेशा हो । हामीले यसलाई अनुभव गरेका छौ । मैले यतिका वर्ष पढाइरहदा मेरा विद्यार्थी धेरै भए । संख्यात्मक हिसाबले धेरै विद्यार्थीहरु भएकोले गर्दा होला । म जता जान्छु, मेरा विद्यार्थीहरु त्यतै पाउँछु । मलाई बाटोमा हिड्दा होस् वा कुनै सरकारी कार्यालयमा पुग्दा, एकदमै अनजान ठाँउमा पुग्दा पनि मेरा विद्यार्थीहरु भेट्छु म । मलाई अत्यन्तै आदर गर्छन्, सम्मान गर्छन् । मलाई कुनैपनि काम गर्न सहज हुन्छ । त्यसैले यो पेशामा लागेको म आफुलाई भाग्यमानी नै ठान्छु ।

पहिला तपाईले पढ्दाको तुलनामा अहिले नेपालको शैक्षिक अवस्था कस्तो छ ?
पहिला पहिला त सरकारले नै सबैलाई पढ्न दिदैन थियो । सबै ठाँउमा विद्यालय थिएन । पढाउने मास्टरहरु पनि कमै हुनुहुन्थ्यो । घरको आर्थिक अवस्थाले पढ्न जाने स्थिति हुदैन थियो ।
अब अहिले त धेरै परिवर्तन आइसकेको छ । आकाश जमिनको फरक छ नी अहिले । अहिले राज्यले शिक्षाको क्षेत्रमा धेरै ठूलो लगानी गरेको छ । निःशुल्क शिक्षा लागु गर्न सरकार अघि बढेको छ । सबैलाई शिक्षाको पहुँच भित्र राज्यले राखेको छ । पहिलेको शिक्षासँग तुलना गर्नै नसकिने गरी शिक्षामा सबैको पहँुच भएको छ ।

सरकारले नीजि विद्यालयहरुलाई निरुत्साहित गर्दै निःशुल्क शिक्षा नीति ल्याउछु भन्छ के भन्नुहुन्छ ?
यो कुरा त अत्यन्तै राम्रो हो । सरकारले निःशुल्क शिक्षा गर्छ भने त्यो त राम्रो हो । तर कुरा एकातिर छ । काम अर्कैतीर भइरहेको छ । कसरी भन्नुहुन्छ भने नेपालमा नीजि विद्यालय बिनाको शिक्षा कल्पनै गर्न नसकिने अवस्था छ । नीजि विद्यालयहरु नहुने हो भने नेपालमा शिक्षाको विकास यो गतिमा हुनै सक्ने थिएन । एक प्रकारले भन्दा नेपालको शिक्षा नीजि विद्यालयले धानेको छ । नीजि विद्यालयहरुलाई निरुत्साहित गर्नुको सट्टामा सरकारी विद्यालयहरुलाई सक्षम बनाउँदै लैजादा राम्रो हुन्छ ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर बढाउन के गर्नुपर्ला ?
सरकारले त्यति धेरै लगानी गरेको छ सरकारी विद्यालयहरुमा । त्यही अनुसारको व्यवस्थान, त्यही अनुसारको रेखदेख र अनुगमन सरकारले गर्नुपर्छ । पठन पाठनमा व्यवहारिक रुपमा अगाडी बढाउनु पर्नेमा सरकारले त्यो गर्नै सकेन । नीजि विद्यालयमा पढ्ने विद्यार्थीहरु अब्बल छन् । नतिजा राम्रो छ । सरकारी विद्यालयलाई समय सापेक्ष बनाउँदै लैजानै पर्छ । त्यसकालागी सरकारले प्रभावकारी अनुगमन र रेखदेख गर्नुपर्छ । अभिभावकहरुलाई सचेत गर्नुपर्छ ताकि आफ्ना नानीहरुको ख्याल अभिभावकले गरुन् ।

सरकारी विद्यालयका शिक्षकहरुलाई सेवा सुविधा धेरै र शिक्षकहरु योग्य, तालिम प्राप्त छन् तर नीजि विद्यालयमा सेवा सुविधा थोरै र योग्यता नपुगेका शिक्षकहरु हुँदा पनि नतिजा चाही किन उल्टो हुन्छ ?
यो समग्र देशको कुरा होला । तर समिट स्कुलमा सबै शिक्षकहरु योग्य र तालिम प्राप्त नै छन् । यो भनिरहदा सरकारी विद्यालयका शिक्षकहरु साँच्चै नै आयोग भिडेर, प्रतिष्पर्धाबाट आएका हुन्छन् अनि बेला बेलामा तालिम समेत लिइरहेका हुन्छन् ।
सबै नीजि विद्यालयमा यो नहुन सक्छ । नतिजाको कुरामा शिक्षकको योग्यता क्षमताका साथै त्यसको व्यवस्थापन, लगनशिलता र जिम्मेवारीको भूमिका महत्वपूर्ण हुन्छ । सरकारी विद्यालयमा पहिलो त व्यवस्थापन राम्रो हुँदैन, राजनीति हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन हुँदैन । राम्रो काम नगर्नेलाई दण्ड पनि हुँदैन । त्यसैले यस्तैमा चलिहाल्छ नी भन्ने मनशायले यो सबै विगारेको देख्छु म । शिक्षकलाई प्रोत्साहन गर्ने र व्यवस्थापनमा अलिकती ध्यान दिए सरकारी विद्यालय पनि राम्रो हुने देख्छु म ।

नेपालको शिक्षा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ला ?
विश्वविद्यालयहरुले अहिले वार्षिक प्रणाली हटाएर सेमेस्टर प्रणाली ल्याएको छ । यसले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्छ । विस्तारै विश्व बजारमा नेपालका जनशक्ति पनि विज्ञका रुपमा आइरहेका छन् । विस्तारै नेपाली विद्यार्थीहरु विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् नै । अहिले क्याम्पसमा ८० प्रतिशत हाजिरी नपुगी परिक्षा दिन नपाउने नियम छ । श्रव्यदृष्यका माध्यमबाट अध्यापन हुन्छ । यसले विश्व बजारमा बिक्न सक्ने विद्यार्थी उत्पादन हुन्छ ।

तपाई अहिले समिट स्कुलमा जोडिनु भयो कस्तो छ स्कुलको अवस्था ?
पछिल्लो समय समिट स्कुलको शैक्षिक गुणस्तर खस्किएकै थियो । हामीले त्यसलाई मध्यनजर गरेर व्यवस्थापनको पाटोलाई परिवर्तन ग¥यौ ।
व्यवस्थापकिय प्रणाली पनि शंसोधन ग¥यौ । जसले गर्दा अहिले समिट स्कुल पहिलेकै स्पिडमा पहिलेकै अवस्थामा पुग्छ भन्ने विश्वास छ । अहिले १२ कक्षामा २०–२२ जना विद्यार्थीहरु छन् । व्यवस्थापन परिवर्तन भएपछि अहिले ११ कक्षामा ९० जना भन्दा बढी विद्यार्थीहरु छन् । यसले पनि समिट स्कुल पहिलेको अवस्थामा फर्किन्छ भन्ने देखाउँदैछ । हामी त्यही लक्ष्यमा छौ । अभिभावकले पनि यही आशा गरेका छन् ।

त्यस्तो काम के गर्नुभयो जसले समिट स्कुललाई पुरै परिवर्तन ग¥यो ?
हामी अहिले विहान ५ः३० बजेदेखि बेलुका ६ः०० बजेसम्म स्कुलमा नै हुन्छौ । स्कुलको शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै एकपछि अर्काे सुधार गर्दै जाँदैछौ । प्लस टुमा यसैवर्षदेखि होटल म्यानेजमेन्टको पढाई थालेका छौ । साथै ट्राभल एण्ड टुरिजमलाई पनि ल्याएका छौ । यसवर्षदेखि फेरी अर्काे नयाँ विषय समावेश गर्ने योजना छ ।
त्यस्तै गरी अहिले विद्यार्थीको समग्र विकासलाई ध्यानमा राख्दै चित्रकलाको बेग्लै शिक्षक, कम्प्युटरको बेग्लै शिक्षक, त्यस्तै गरी फुटबल, भलिबल, नृत्य, बास्केटबल जस्ता क्षेत्रमा पनि अब्बल हुनुपर्छ भनेर बेग्ला बेग्लै प्रशिक्षकको व्यवस्था गरी नियमित प्रशिक्षण दिइरहेका छौ ।

अन्त्यमा के भन्नुहुन्छ ?
म साधारण किसानको परिवारमा जन्मिएर यो अवस्थासम्म आइपुगे । म रिटायर्ड भएपछि के गरुला भन्ने थियो । पुनः समिट स्कुलमा जोडिएर विद्यार्थीहरुलाई पढाउन पाए । यसैमा अत्यन्तै खुशी छु । मेरो जीवन नै अध्ययन अध्यापनमै वित्यो । मेरो उर्जावान समय यसैमा विताए । अब पनि सकुन्जेलसम्म यसैमा रहने मेरो इच्छा छ । मेरा विद्यार्थीलाई ठाँउ ठाँउमा भेट्दा मैले पनि विद्यार्थीकालागी अभिभावककालागि र राष्ट्रकालागि केही गरेछु भन्ने लाग्छ यसैमा म खुसी छु ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए