'सिटको झोला काखमा राखेपछि खुलेको त्यो रहस्य'

  • प्रकाशित मितिः भदौ 2, 2076
  • 4117 पटक पढिएको
  • औजार संवाददाता

चन्द्रागिरी नगरपालिका—२ नागढुंगास्थित चेक प्वाईन्टमा विशेषगरी काठमाडौं बाहिरिनेभन्दा पनि बढी भित्रने गाडीहरुको जाँच हुने गर्छ। यो नियमित जाँच हो।

सोही मेसोमा शनिबार बिहान प्रहरी जवान विशाल साउदसहितका प्रहरीको ड्युटी परेको थियो।

जवान साउद प्रहरी पहरा गण सामाखुसीमा दरबन्दी भई महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत छन्। बाहिरी जिल्लाबाट काठमाडौं भित्रने गाडीहरू जाँच भइरहकै थियो। जवान साउदले एक दर्जनभन्दा बढी गाडी जाँच गरिसकेपछि बा २ ख १९८० नम्बरको बस पनि जाँच गरे। धादिङबाट काठमाडौं आउँदै गरेको उक्त बसभित्रै प्रवेश गरेर उनले जाँच गरेका थिए।

नागढुंगा नाकामा लागुऔषध र विस्फोटक पदार्थ भित्रन सक्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरबाट जाँच गर्नका लागि सहयोग लिँदै आएको छ। तर शनिबार भने बिना कुकुर प्रहरीले जाँच गरिरहेको थियो।

जवान साउद सामान्य रुपमा बसभित्रका यात्रु नियाल्दै बसको अन्तिम सिटतर्फ जाँदै थिए। जवान साउदलाई उद्धृत गर्दै उनी निकट स्रोतले नेपाल लाइभलाई भन्यो, ‘सोही बेला एक युवाले नजिकै रहेको आफ्नो पछाडि भिर्ने झोला तानेर आफ्नो काखमा राखे। त्यहीबाट खुल्यो विप्लवका सार्प सुटरको पोल।’

झोला तानेर आफ्नो काखमा राखेपछि जवान साउदलाई शंका लागेपछि उनले झोला खानतलासी गरेका थिए। साउदलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हतियारसहित मान्छे छिरेको भन्ने कुनै सूचना नै थिएन। म सामान्य नियाल्दै अघि बढ्दै थिएँ। सिटको झोला काखमा सारेपछि शंका लागेर जाँच गर्दा यो रहस्य खुलेको हो।’

उक्त झोलाबाट २ थान पेस्तोल, २० राउन्ड गोली, उषा लेखिएको ९० एमएलको तेल २ बोतल, दुरबिन १ थान, मोबाइल ५ थान, विभिन्न कागजात, डायरी, सम्पर्क नम्बर बरामद गरेको छ।

यी हातहतियार र महत्वपूर्ण दस्तावेजसहित पक्राउ पर्ने व्यक्ति हुन्, ललितपुर कोन्ज्योसम गाउँपालिका—२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामा। उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

विप्लव समूहका सार्प सुटर
पक्राउ परेका लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का ‘सार्प सुटर’ भएको अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘पक्राउ परेका लामा विप्लव समूहका स्पेसल टास्क फोर्सका सदस्य भएको पाइएको छ।’

यो विप्लवको महत्वपूर्ण फोर्स हो। विशेष परिस्थितिमा सुटरको रुपमा यो फोर्सले काम गर्ने बताइएको छ। सोही अनुरुप प्रहरीको विशेष ब्युरोले समेत उनीमाथि अनुसन्धान गरिरहेको छ।

धादिङको धार्केबाट गाडी चढेर काठमाडौं आएका उनी कुनै मिसनकै लागि आएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ। पछिल्लो समय जनप्रतिनिधिलक्षित विप्लव नेकपाले कारबाही गर्न थालेकाले ठूलै हत्या योजना पनि हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालिएको बताएको छ।

यद्यपि पक्राउ परेका लामाले अहिलेसम्म कसैको हत्या योजना नभएको बयान दिएका छन्। उनले आफूलाई हतियार दिने र सो हतियार काठमाडौंमा रहेका अर्का व्यक्तिलाई सुम्पिनु पर्ने जिम्मेवारी मात्रै पाएको भन्दै दुई व्यक्तिको नाम लिएका छन्। प्रहरीले हतियार दिने र काठमाडौमा रिसिभ गर्न बसेका भनिएका व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ।

प्रहरी जवान साउदलाई पुरस्कृत गर्ने तयारी
विशेष सूचना बिनै सानो शंकाकै भरमा अत्याधुनिक हतियार र महत्वपूर्ण दस्तावेजसहित मान्छे पक्राउ गरेको भन्दै प्रहरी जवान साउदलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुरस्कृत गर्ने भएको छ।

उनलाई नगद १३ सय रुपैयाँसहित पुरस्कृत गर्न लागिएको परिसरले जनाएको छ। राम्रो काम गर्ने प्रहरीलाई तालुकको कार्यालय प्रमुखबाट पुरस्कृत गर्ने चलन अनुसार जवान साउदलाई पुरस्कृत गर्न लागिएको हो। यो पुरस्कार बढीमा एक हजार रुपैयाँ र प्रमाणपत्र दिइने चलन थियो। अहिले त्यसलाई बढाएर १३ सय रुपैयाँ पुर्‍याइएको छ।

यो पुरस्कारको राशी सानो भएपनि बढुवा हुने बेला पुरस्कारको समेत अंक जोडिने भएकाले प्रहरीमा निकै महत्वपूर्ण मानिन्छ।

 


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको