सम्झनामा दाजु शंकरप्रसाद आचार्य

  • प्रकाशित मितिः असार 25, 2076
  • 731 पटक पढिएको
  • माेतीराज सुनुवार

मेरा आदरणीय दाजु शंकरप्रसाद आचार्यले हामी सबै इष्टमित्र, कुल कुटुम्ब, साथीभाइ तथा परिवारजनलाई छोडेर स्वर्गारोहण भएको पनि आज ६ महिना भएछ । यो अर्धवार्षिकी पूण्य तिथिमा म स्व. दाजुलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । शंकर दाजु यहाँले हामी सबैलाई सदाकालागी छोडेर भौतीक रुपमा त जानुभयो तर यहाँबाट विगतका दिनहरुमा नेपाली समाज तथा साथीभाइबीच खेलीएको भूमिका ताजै भएर मानसपटलमा रहिरहेको छ ।
मेरो र शंकर दाजुको उठबस सरसंगत लामो समयसम्म भएको थियो । यसरी पनि होला –शंकर दाजु सहित धरानबाट स्वर्गीय हुनुहुने धेरै दाईहरुको सम्झना मेरो मानसपटलमा गाढा भएर रहेको छ । म शंकर दाईको अर्धवार्षिकी पूण्य तिथिमा उहाँ सम्बन्धी यहाँ स्मरण गर्ने प्रयत्न गरेको छु । मैले २०४० सालदेखि धरान भानुचोकमा यातायात क्षेत्रमा मजदुरी गर्ने प्रवेश गरेको थिए । म यतायात क्षेत्रमा प्रवेश गर्दा धरान भानुचोकमा यातायात व्यवसायीहरुका बीचमा शंकरप्रसाद आचार्य व्यवसायीहरुको एकल नेताका रुपमा देखिनुहुन्थ्यो । प्रहरी प्रशासन, सामाजिक व्यक्तित्व सबैकाबीचमा यातायात व्यवसायीहरुको हितमा कुरा उठान गर्ने, समाधान गर्ने, सबै पक्षको नेतृत्व उहाँबाट नै हुने गर्दथ्यो । भानुचोकमा नै उहाँको कार्यालय भएको हुँदा कहिलकाही अरु अरु साथीभाइको साथ कार्यालय जाने गर्दथे । उहाँको कार्यालयमा फुत्त छिर्न सकिन्न थियो । उहाँ धेरै मानिसहरुका बीचमा छलफल बहसमा नै व्यस्त देखिनुहुन्थ्यो । कार्यालयबाट निस्कदा पनि अगाडी पछाडी ५÷७ जना मानिसकै घेरामा रहनुहुन्थ्यो । म २०३७ सालदेखिको धराने विद्यार्थी अनि विद्यार्थी आन्दोलनको विस्तारै रापमा पर्दै गएको कारण रहेछ । मैले त्यतिबेला उहाँलाई सामन्ती व्यक्तीका रुपमा चिन्दथे ।
मैले विस्तारै विस्तारै यातायात क्षेत्रको कुरा बुझ्न थाले । उहाँ असल प्रशासक हुनुहुदो रहेछ भन्ने ज्ञान मलाई पछि आयो । म विस्तारै मजदुरहरुको आन्दोलनमा सरिक हुँदै गए । उहाँ र मेरोबीच छलफल सरसंगत हुन थाल्यो । शंकरप्रसाद आचार्य बामपन्थी व्यक्त हुन् । उहाँले विद्यार्थी जीवनमा आन्दोलनको सक्रिय नेतृत्व गर्नुहुन्थ्यो भनेर अगुवाहरुलो पछाडिका दिनमा मलाई बुझाए । बीचमा धेरै विषयहरुमा उठबस छलफल हुँदै आयो । आपसमा कहिलेकाही विमती पनि भए । तर आन्तरिक रुपमा समाधान गरिन्थ्यो । २०४२÷०४३ सालमा पञ्चायतका मानिसहरुको मौखिक नियम कानुनले काम गर्दथ्यो । एक दिन धरान बसपार्कमा धनकुटा जान धनकुटाका सहायक सिडिओ आएछन् । टिकट माग्दा दिलकुमार गुरुङ भाइले लाइनमा टिकट दिदै गएछन् । ती सहायक सिडिओले उनलाई बुकिङ भाइले पहिला टिकट नदिएको कारण देखाउँदै प्रहरी थानाबाट प्रहरी झिकाइ हतकडी सहित पक्राउ गरेछन् । म त्यही काउण्टरको मजदुर थिए । खाना खान गएको समयमा यी कार्यहरु भएछन् । मलाई सूचना भयो, म तु बस स्टेण्ड आए । त्यो समयमा संगठन थिएन । तर मजदुर साथीहरुले मैले भने अनुसार सबैजना मान्थे । मैले केही साथीहरुको साथ लिएर बसहरु सबै ग्यारेजमा थन्क्याउन लगाए । यो काममा स्व. महेन्द्र बुढाथोकीको पूर्ण सहयोग भएको थियो । उहाँ लगायत छविलाल दाइ बस व्यवसायी पनि थिए । छविलाल दाइ चाही यो काममा थोरै अलमलिनु भयो । मलाई माले पाटीको केटो हो भन्ने छविलाल दाइले राम्ररी बुझ्नुभएको थियो । र हतपत्त सहयोग गर्न चाहानुहुन्न थियो । बस २ दिन बन्द भयो । प्रहरीले यो शक्ति देखेर पक्राउ गरेको बेलुका नै दिलबहादुर भाइलाई थानाबाट छोडिएको थियो । तर बस खुलेनन् । प्रशासनलाई बस बन्द गर्ने को हो ? उनीहरुको टाउको दुखाइ भएको थियो ।
स्व. शंकरप्रसाद आचार्य दाइ त्यो समयमा पूर्वाञ्चल मोटर सिण्डिकेटको सभापती हुनुहुन्थ्यो । प्रशासनले उहाँलाई दबाब दियो । यो कामको नेतृत्व मोती सुनुवारले गरेको हो भन्ने उहाँले भेउ पाउनुभयो । बामपन्थी व्यक्तीत्व भएकै कारणले मलाइ बोलाएर अब बन्द खोल्ने वातावरण मिलाउनुहोस् भन्ने सल्लाह दिनुभएको थियो । र हामीले बस सञ्चालनमा ल्याएका थियौ । म उहाँलाई यही कारण साँचो कम्युनिष्ट व्यक्ति हुनुहुदो रहेछ भन्ने त्यो समयमा मनन गरे । र त्यो समयदेखि अझ उहाँ प्रति मेरो सद्भाव र सम्मान बढ्दै गयो । नजिकिदै गए । यदी उहाँ त्यो ठाउँमा नभएको भए मेरो सायद जागिर पनि जान्थ्यो होला र केही समय प्रहरी खोरमा पनि पर्थे होला । २०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलिय व्यवस्था पछि धरानको भानुचोकमा यातायात क्षेत्रका मजदुरहरुका बीचमा लगभग म एकल मजदुर नेताका रुपमा थिए । नेपाल कम्युनिष्ट पार्टी माले र माक्र्सवादी पाटी एक भएपछि पाटीमा पनि मजदुरको तर्फबाट म नै नेता बन्दै गए । यातायात क्षेत्रमा माक्र्सवादी पाटीका कार्यकर्ताहरु धेरै थिए । माले पाटीका कार्यकर्ता कम थिए । पाटी एक भएपछि स्व. छविलाल लम्साल र मेरो बीचमा पनि सम्बन्ध सुध्रियो । स्व. छविलाल लम्साल, स्व. महेन्द्र बुढाथोकी, स्व. शंकरप्रसाद आचार्य, स्व. बासुदेव श्रेष्ठ, स्व. प्रेमकुमार श्रेष्ठ लगायतका अग्रजहरुबाट २०३६÷०३७ अनि त्यो भन्दा अगाडीका दिनहरुमा धरानका बामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलिएको तथ्याङ्कहरु मैले अध्ययनका क्रममा पाए ।
पाटी एकिकरण पछि भने उहाँहरु सबैको भूमिका विस्तारै खस्कदै गएको थियो । उहाँहरु सबै राजनीतिबाट रिटायर्ड लाइफ विताउने तहमा देखिनुहुन्थ्यो । पाटीमा नवजवानहरुको टिम आएको थियो । विशेष गरेर सबै माले पाटीका विद्यार्थीहरु नेताहरु नै पाटीका नेता बन्दै गएका थिए । स्व. शंकरप्रसाद आचार्य पनि यातायात व्यवसायीहरुको संस्थाको पदाधिकारीबाट जिम्मेवारमुक्त बन्नुभएको थियो । म धनकुटा काउण्टरको मजदुर भएको र उहाँहरु सबै यातायात व्यवसायी भएका कारण विहान बेलुका मेरा चिया पार्टनर उहाँहरु बनिन थाल्नुभयो । मजदुर संगठन अनि पाटीमा यातायात क्षेत्रको सम्बन्धमा मेरो रिपोर्ट नै अन्तिम रिपोर्ट बन्दथ्यो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेता त म बनिए तर मजदुरहरु मजदुर संगठनमा आज जस्तो गोलबन्द भइ हाल्ने स्थिति थिएन । अतः मैले उल्लेखित अग्रजहरुलाई नै संगठनमा सक्रिय रहन विहान बेलुका अनुरोध गर्न थाले । पाटीको हरेक गतिविधिमा जानुपर्छ भनेर अगाडी लगाएर लैजान थाले । विस्तारै दाइहरु पार्टीका हरेक गतिविधिमा उपस्थिति हुन थाल्नुभयो ।
मजदुरहरुको तर्फबाट पाटीमा कुरा राख्नुपर्दा हामी सबैको सल्लाह भएर एक मत बनाएर मलाई राख्न लगाउनु हुन्थ्यो । पाटीमा कुनै कार्यक्रम सञ्चालन हुँदा कतै दाइहरु अगाडी कुद्नुभएको खण्डमा मोती सुनुवार बेगार दाइहरु कसरी उपस्थिति भए ? भन्ने जस्ता हसि मजाक समेत अरु अरु साथीहरुमा चल्न थाल्यो । विस्तारै विस्तारै धरानको बामपन्थी आन्दोलनका हस्तिहरुका रुपमा स्व.छविलाल लम्साल, स्व. शंकरप्रसाद आचार्य, स्व. महेन्द्र बुढाथोकी, स्व.बासुदेवमान श्रेष्ठ तथा स्व. प्रेमकुमार श्रेष्ठहरुको नामहरु लिपिबद्ध हुँदै गए । उहाँहरु सबैले जीवनको अन्तिम दिनसम्म तत्कालिन नेकपा एमालेको विभिन्न कमिटिको जिम्मेवारी सम्हालीरहेको अवस्थामा नै स्वर्गारोहण भएको थियो । २०४६ को जनआन्दोलन, सक्रिय निरङ्कुस राजतन्त्र विरुद्धको आन्दोलन तथा २०६२÷६३ को आन्दोलनमा सबैमा दाइहरुको भूमिका यातायात क्षेत्रबाट महत्वपूर्ण रहेको थियो ।
उहाँहरु सबैको स्वर्गबास भइसकेको छ । म उहाँहरु भन्दा धेरै सानो थिए । उहाँहरु रहुन्जेल सबैले मलाई सानो भाइको रुपमा होइन की उहाँहरु सरहको साथीभाइको तहमा राखेर व्यवहार गरिन्थ्यो ।
शंकरप्रसाद आचार्य दाजु नेकपा एमालेको धरान नगर कमिटि सल्लाहकार सदस्य, नेकपा जिल्ला कमिटि सुनसरी सल्लाहकार सदस्य तथा नेकपा एमाले जेष्ठ कम्युनिष्ट मञ्च सुनसरीको सदस्यको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । अतः धरानको कम्युनष्टि आन्दोलन एक नैतीकवान सिपाही मेरो लामो संगती दाजुको अर्धवार्षिकी पूण्य तिथीमा विगतका दिनहरुलाई यसरी नै स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । अमेरिकामा रहँदै आएका ठूली छोरी, डाक्टर साहेब माइली छोरी, जागिरे जीवनमा व्यस्त कान्छी छोरी, एयरक्राफ्ट इन्जिनियर भतिज प्रशान्त, मेरो आदरणीय भाउजु लगायत सबै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य