रेमिटल्याण्डको छोटो भ्रमण

  • प्रकाशित मितिः जेठ 11, 2076
  • 216 पटक पढिएको
  • प्रकाश थाम्सुहाङ

लेखक श्याम सिंघकको नवीनतम् उपन्यास हो रेमिटल्यान्ड । सिंघकको यो दोस्रो आख्यान हो । उनको पहिलो उपन्यास २०६५ सालमा प्रकाशित भएको थियो । पहिलो उपन्यास मैले पढ्न पाएको छैन । तर, ‘रेमिटल्यान्ड’लाई मैले एकै बसाइमा अद्योपान्त पढी सिध्याएँ । एकै बसाइमा पढ्न सक्नु भनेको किताबले तान्न सक्नु हो । उपन्यासभित्रको कथानकले तान्नु हो । औंलामा गन्न सकिने केही किताबमात्रै मैले एकै बसाइमा पढिसकेको छु । त्यो लाममा अब ‘रेमिटल्यान्ड’ पनि उभिन आइपुगेको छ । मलाई किताबको विषयवस्तुले निकै छुनुपर्छ । प्रस्तुति, शिल्प र संरचनाले छोयो भने त किताब नसिध्याई उठ्नै मन लाग्दैन । ‘रेमिटल्यान्ड’ले म भित्रको पाठकलाई बेस्सरी छोयो । मेरो अभिरुचिलाई छोयो । अझ यसो भनाँै, मेरो मथिंगललाई हल्लायो । त्यसको कारण छ ।
आधा रातसम्मको वैचारिक रस्साकस्सी र अल्कोहलको ओभरडोजले बिहान अबेरमात्र उठी खाटमा झोक्राइरहेको थिए । ह्याङओभरले टाउको फुट्ला झैं भइरहेको थियो । अर्को खाटमा राजन मुकारुङ चुरोट तान्दै ल्यापटपमा ख्याटख्याट केही टाइप हान्दै थिए । कोठामा धुवाँको कुहिरो मण्डल थियो । हामी राजन मुकारुङको नरेफाँट डेरामा थियौं ।
त्यहीबेला एक तालुचिन्डे (म जस्तै) मान्छे कोठा भित्र छिर्छन् । तिनलाई मैले पहिले कतै देखेको थिइनँ । को होलान् ? गम्दै थिएँ । राजन दाई परिचय गराउँछन् ‘उहाँ श्याम सिंघक, नयाँ आख्यान लेख्दै हुनुहुन्छ । पाण्डुलिपि पढ्दै छु म ।’ त्यसपछि सिंघकसँग केहीबेर भलाकुसारी हुन्छ । तेह्रथुम छथरका लिम्बू रहेछन् । आधा काठमाडौं) र आधा केरखा बस्दा रहेछन् । उनी बाहिरिएपछि राजन दाइलाई सोध्छु, ‘कस्तो छ उपन्यास ?’
‘रेमिटल्यान्ड’ पूर्वी नेपालको दमक सहर र त्यसको पेरिफेरीको कथा हो । तर, रेमिट्यान्स संस्कृतिले पूरै देश प्रभावित भएको बेला त्यस्तो कथा दमक सहरसँग छ मात्रै भन्ने सोच्नु गलत हुनेछ । पूरै देश एउटा ‘रेमिटल्यान्ड’ हो । आफ्नै अन्दाजको केही बेर मौन रहेपछि राजन बोल्छन्, ‘ठीक ठीकै हो । तर, प्रशस्तै पुनर्लेखन ग¥यो भने गज्जबको बन्छ ।’ मैले तत्काल पत्याइहालिनँ । एउटा छथरको लिम्बू केटाले गतिलो आख्यान लेख्यो होला ? मलाई विश्वास थिएन । कुन्नि ! त्यो बेला त्यस्तो सन्देह कुन अवचेतनबाट जागृत भयो ? कि मैले सापेक्षमा मूल्यांकन गरेँ ? त्यसो त कल्पना गरेँ,’ यिनको लेखक बन्ने रहरले लोक्ताको नास हुने भो ।’
भेटमा कवि चन्द्रवीर तुम्बापो भन्थ्यो, ‘हौ, श्याम सिंघकको भयानक उपन्यास आउँदै छ है ।’ अहँ मलाई अझै विश्वाश जागेन । श्याम सिंघकसँगको पहिलो भेटमा म मा कस्तो इम्प्रेसन प¥यो कुन्नि, उनले लेख्छन् होला जस्तै लागेन । (कसैको लेखन पढ्दै नपढी पूर्वानुमान गर्ने म सायद मूर्ख हुँ ।)
यस बखत सोच्छु (म प्रचलित नामको पछि मात्र कुद्दो रहेछु । नयाँ नामको लेखकलाई अवमूल्यन गर्दो रहेछु । यो मेरो कमजोरी थिएन । श्याम सिंघकको लेखनको झापडले मेरो गल्ती बोध भएको छ । त्यसो त माथि नै भनिसकेँ) रेमिटल्यान्डले मेरो माथिंगल हल्लाएको छ । प्रकाशन र पाठकको दृष्टिकोणबाट हेर्दा आख्यान लेखनको करिब एघार दशकको इतिहासमा आजको समय सप्पैभन्दा अनुकूल हो । त्यसो त प्रकाशन गृह र लेखक आख्यानतर्फ बेजोड आकर्षित भइरहेछन् । समकालीन विश्व आख्यान लेखनको दाँजोमा नेपाली आख्यानको स्तर कहाँ नेर पुग्यो ? त्यो विमर्शको अर्कै पाटो होला । आख्यान लेखनको बाढीले कतै आख्यान विधालाई नै कोसीको बगर बनाउने त होइन ? त्यो पनि बहसको अर्कै पाटो होला ।
यद्यपि, विविध परिवेश र पृष्ठभूमिका लेखकको आख्यान लेखन प्रयासले नेपाली समाजको विविधतालाई यथोचित सम्बोधन गर्नेछ भन्नेमा म सकारात्मक छु । यही मेसोमा अर्वाचिन नेपाली समाजको जल्दोबल्दो मुद्दा ‘रेमिट्यान्स संस्कृति’लाई विषयवस्तु बनाएर श्याम सिंघकले ‘रेमिटल्यान्ड’ लेखेका छन् । ‘रेमिटल्यान्ड’ रेमिट्यान्स संस्कृतिले नेपाली समाजलाई पारेको गहिरो प्रभावको सांगोपांगो चित्र हो ।
सर्वप्रथम त ‘रेमिटल्यान्ड’ मा प्रयुक्त भाषाशैलीले मलाई तीन चित् खुवायो । लिम्बू भाषा आफ्नो मातृभाषा भएको एउटा लेखकले त्यति सुन्दर खस नेपाली भाषामा लेख्छ भन्ने कल्पनै गरेको थिइनँ । भाषाशैली गज्जब छ र नै किताब पठनीय बनेको छ । कुनै पनि आख्यानको पहिलो सर्त भनेको पठनीय हुनु हो । दुई पन्ना पढ्दै पाठकलाई दिक्क लाग्न थाल्यो भने त्यो लेखकको घोर असफलता हो । यस मानेमा श्याम सिंघक अब्बल लेखक दरिएका छन् ।
‘रेमिटल्यान्ड’ पूर्वी नेपालको दमक सहर र त्यसको पेरिफेरीको कथा हो । तर, रेमिट्यान्स संस्कृतिले पूरै देश प्रभावित भएको बेला त्यस्तो कथा दमक सहरसँग मात्रै छ भन्ने सोच्नु गलत हुनेछ । पूरै देश एउटा ‘रेमिटल्यान्ड’ हो । एउटा तथ्यांकले भन्छ (इलाम सहरमा मात्रै मासिक पन्ध्र करोड रेमिट्यान्स भित्रिन्छ । बुझ्दा हुन्छ) रेमिट्यान्स संस्कृतिले हाम्रो समाजलाई कसरी जकडिइरहेछ !
केही महिनाअघि दमकमा ‘रेमिटल्यान्ड’माथि भएको डिस्कोर्समा किताबको शीर्षक ‘रेमिटल्यान्ड नभएर प्रेमल्यान्ड भएको चर्चा पनि हुन्थ्यो’ भनेर केहीले आफ्ना विचार राखे । हुन त ‘रेमिटल्यान्ड’ मुक्साम र रुक्मिणीको प्रेमप्रसंगबाटै सुरुवात हुन्छ र अन्त्य पनि । तर, यहाँ निर बुझ्नुपर्ने कुरा के छ भने आख्यानकारले प्रेमलाई सहायक आधार मात्रै बनाएका हुन् । उनको अभीष्ट नेपाली समाजको आर्थिक, सामाजिक बदलाबमा रेमिट्यान्स संस्कृतिले पारेको सकारात्मक प्रभाव र पिरलो देखाउनु हो ।
उपन्यासको मुख्य पात्र मुक्साम नौ वर्ष कतारमा रोजगारी गरी फर्किएको छ । ऊ घर पुग्ने दिन श्रीमती फुङ्साले भने घर र छोरी त्यागेर हिँड्छे । मुक्साम विक्षिप्त बन्छ । मन बहलाउन क्रिश्चियन धर्म अंगाल्छ र संगतिमा जान्छ । घटनाक्रममा दमकमा कोल्ड स्टोर खोलेर बसेकी रुक्मिणीसँग उसको भेट हुन्छ । रुक्मिणीको श्रीमान् वैदेशिक रोजगारमा हुन्छ । दुवै एकान्तको पीडित । व्यथा मिल्छ र सामीप्यता बढ्छ । त्यो सामिप्यताबाट प्रेम अंकुराउँछ ।
प्रेम शाश्वत छ । प्रेम हिजो पनि गरिन्थ्यो आज पनि गरिन्छ । प्रेमलाई विषय बनाएर हिजो पनि प्रशस्तै लेखियो आज पनि लेखिँदैछ । तर, प्रत्येक लेखकको प्रेममाथिको फरक लेखनले बेगल–बेगल अनुभूति दिँदोरहेछ । ‘अनुराधा’ उपन्यासमा पाइने प्रेमको अनुभूति र यस ‘रेमिटल्यान्ड’मा पाइने प्रेमको अनुभूति बेगल–बेगल हुँदोरहेछ । त्यो फरकपन लेखकको प्रस्तुतिले दिँदोरहेछ । मुक्साम र रुक्मिणीको प्रेमले पनि पाठकलाई हुरुक्कै बनाउँछ । भलै त्यो समाजले अनैतिक देखोस् । तर, यसो सोच्दा लाग्छ (यो सामाजिक मान्यता भनेको हामीले नै निर्माण गरेको न हो ।)
उपन्यासभित्र यौनमाथि खेल्न पनि लेखकले निकै भाँती पु¥याएका छन् । कुनै ठाउँ पढ्दै जाँदा लाग्छ, लेखक नजिकै भएको भए कच्याककुच्चुक पारौंजस्तो । मुक्साम र रुक्मिणीको शारीरिक मिलन हुन्छ कि भन्यो, हुँदैन । बरु पाठकलाई हर्टअट्याक्ट होलाजस्तो भइसक्छ । पाठकमा यस्तो अनुभूति सिर्जना गराउनु लेखकीय सफलता हो । ‘रेमिटल्यान्ड’को अर्को सबल पक्ष भनेको दमक सहर र पेरिफेरी भूगोलको सजीव चित्र ल्याउनु हो । र, त्यस भेगमा पाइने प्राणी र वनस्पतिको शिल्प मिलाएर वर्णन गर्नु हो । यसो गर्दा उपन्यास मोनोटोनस बगेको छैन । कुनै ठाउँमा लाग्छ, म जीव र वनस्पति विज्ञान पढिरहेछु । यसले के संकेत गर्छ भने अबको लेखन चुनौतीपूर्ण छ । अब साँघुरो कोठामा बसेर वा कल्पनामा डुबेर सिलिङ हेरेर भावुक हुँदै लेख्ने दिन गए । अबको लेखक फिल्डमा ओर्लिनै पर्छ । र, कुनै पनि क्षेत्रको सूक्ष्म अध्ययन गर्नैपर्छ ।
उपन्यासमा नारायण जस्तो पात्र पनि छ, जो रेमिट्यान्स संस्कृतिले बगाएर ल्याएको धमिलो पानीमा माछा मार्छ । नरसिंजस्तो हिर्दोक पात्र पनि छ, जो कुनैबेलाको आदिवासी जमिनदार थियो र वर्तमानमा विविध कारणले सुकुम्बासी भएको छ । जवान पत्नीलाई विधवा बनाउने काठको बाकसदेखि पतिको विदेशी पसिनालाई जुवाखालमा दुरुपयोग गर्ने पात्र पनि छन् । आफ्नो मान्छेलाई सधैंभरि कुरेरै बस्ने नैतिकवान् पात्र पनि छ । ती पात्रमार्फत् सामाजिक यथार्थलाई प्रतिविम्बित गर्नु लेखकको अभीष्ट हो, त्यो सजिलै बुझिन्छ ।
उपन्यासको कथा बहावमा कतै कतै फिल्मीशैली देखिन्छ । जस्तो मुक्साम र रुक्मिणीले प्रेम अमर बनाउने निहुँमा निर्माण गर्ने फलैंचा र उनीहरूको बिछोडपछि फलैंचामा नै भएको आकस्मिक भेटबाहेक अरूमा खोट लाउने ठाउँ कम्तीमा मैले चाहिँ भेटिनँ । पछिल्लो समय नेपालका हेभिवेट आख्यान लेखकलाई पाठकले नै नकआउट गरिरहेको सन्र्दभमा एउटा मिडिल वेट आख्यान लेखकको उदय भएको छ । लेखनमा उनको यस्तै पर्फमेन्स रहिरहने हो भने कालान्तरमा श्याम सिंघक हेभिवेट लेखक बन्ने सम्भावना व्यापक छ ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्