धरान । धरान वडा नं. ५ का युवाहरुलाई पाककला (कुक) को प्रशिक्षण दिइएको छ । 

धरान–१८ स्थित धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेण्टका प्रशिक्षकले युवाहरुलाई प्रशिक्षण दिएका थिए । धरान उपमहानगरपालिका वडा नं. ५ को आयोजनमा संचालित युवा सीप विकास लक्षित कार्यक्रम अन्तर्गत २१ दिने पाककला (कुक) तालिम प्रशिक्षणमा ११ जना महिलाहरुलाई २१ दिने तालिम दिइएको थियो । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै ५ नं. वडाका वडाध्यक्ष मनप्रसाद लिम्बूले युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउन व्यवसायिक तथा सिपमूलक तालिम प्रदान गरिएको बताए । उनले युवाहरु सिप विहिन हुदा बेरोजगार हुनुपरेको भन्दै सिप भए कोही पनि बेरोजगार नहुने बताए । उनले वडाले युवाहरुलाई अन्य सिपमूलक कार्यक्रममा पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रशिक्षणमा सहभागी आशा राईले व्यवसायिक रुपमा खाजा घर तथा होटल चलाउन सक्ने गरी कुकको प्रशिक्षण पाएको बताइन् । पुस ३ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम आज पुस २५ गते सम्पन्न भएको हो । कार्यक्रमको अध्क्षता वडा नं. ५ का अध्यक्ष मनप्रसाद लिम्बूले गरेका थिए भने प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र बिक्रम बेघा रहेका थिए । समापन कार्यक्रम ५ नं. वडा जनप्रतिनिधि वडा सदस्य विजय राई, सुनिता राई, शान्ता माया विश्वकर्मा उपस्थित रहेका थिए ।